३ चरणको यस्तो योजना सहित साउदीमा लक डाउन खुकुलो हुँदै

साउदी अरबले कर्फ्यु खुकुलो बनाउँदै लैजाने भएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार साउदीले २ महिनादेखि जारी कर्फ्यु विभिन्न चरणमा विभाजन गरी बिहीबारदेखि खुकुलो बनाउन लागेको हो । जसअन्तर्गत पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गरिनेछ । तर बाँकी समय लक डाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । खुला गरिएको समयमा खुद्रा तथा होलसेल पसल र मलहरु खुल्नेछन् । तर सामाजिक दूरी भने कायम गर्नुपर्नेछ ।

यस्तै, पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायतका धेरै भीडभाड हुने क्षेत्रहरु भने बन्द नै रहनेछन् । त्यसैगरी, दोस्रो चरणमा मे ३१ देखि जुन २० तारिखसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला हुनेछ । तर, यी क्षेत्र र प्रान्तमा चल्ने सार्वजनिक यातायातका साधन भने बन्द नै रहनेछन् । रेष्टुराँहरु भने खुल्ने भएका छन् । तर पार्लर, सैलुन, जिम र हल लगायत भीडभाड हुने क्षेत्र भने दोस्रो चरणमा पनि बन्द नै रहनेछन् ।

यसैगरी, तेस्रो चरणमा जुन २१ पछिको समय मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्र खुला गर्ने बताएको छ । लक डाउन भन्दा अघिको सामान्य अवस्थामा लैजान विभिन्न योजना बनाइएको त्यहाँको सरकारले बताएको छ । लामो समय लक डाउन जारी रहँदा अर्थतन्त्रमा समस्या उत्पन्न हुँदै गएको छ । मानिसहरुको जनजीवन पनि बेस्सरी प्रभावित भएको छ । यसर्थ, सुरक्षाका पर्याप्त उपायहरु अपनाएर विस्तारै दैनिक जीवन सामान्य बनाउने रणनीतिमा सरकार पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया