५५ लाख ऋण खोजेर अमेरिका पुगेका आशिषले अल्पायुमै ज्यान गुमाए

विदेशमा ज्यान गुमाउँनेहरुका परिवारको पिडा कसैले अनुमान गरेभन्दा बढी छ । आफन्त गुमाउँदाको पिडा त छ नै तर केही कमाई होला भन्ने आँट गरेर ऋण गरेर विदेशपुग्दा केही समयमा नै परिवारको सदस्य नै गुमाउनुपर्दा कति पिडा होला । शब्द पढ्दै जो कोहीलाई महसुस हुनसक्छ । बाग्लुङ्ग नगरपालिका वडा नम्वर १ रुद्रेपीपलका रामबहादुर खत्री र कोपिला खत्रीको परिवारमा अहिले यस्तै भएको छ ।

ऋणपान गरेर सबैको सपनाको देश अमेरिका पठाएका छोराको केही समयमा नै मृत्यु भएको खबर आएपछि उनीहरुको सबैथोक सकियो । गत आइतवार उनीहरुका एक्दा छोरा आशिष केसीको अल्पआयुमा नै निधन भयो । उनको उतै दाहसंस्कार गरिएको छ। बुधवार अपरान्ह केसीको दाहसंस्कार गरिएको मेरिल्याण्ड राज्य संसदका सदस्य डेलिगेट ह्यारी भण्डारीले जानकारी दिएका छन्। २५ वर्षीय केसी गत शुक्रवार एक तालमा डुबेका थिए। हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएका उनलाई बचाउन चिकित्सकहरुले गरेको निरन्तरको प्रयास सफल हुन सकेन र आइतवार उनको अस्पतालमा नै निधन भयो।

को हुन् आशिष?
अल्पायुमै आफ्नो इहलीला अन्त्य गरेका आशिष बाग्लुङ्ग नगरपालिका वडा नम्वर १ रुद्रेपीपलका रामबहादुर खत्री र कोपिला खत्री दम्पतिका एक्ला छोरा हुन्। खत्री दम्पतिका एक छोरा र एक छोरी थिए। छोरी हाल अध्यययनका क्रममा जापानमा छिन्। ‘उनी जापान गएको एक वर्ष पनि भएको छैन’ केसी परिवारलाई नजिकबाट चिन्ने बाग्लुङ्ग सेवा समाज, मेरिल्याण्डका कोषाध्यक्ष योगेन्द्र पराजुली भन्छन्।

पराजुली र आशिषका बुवा दश कक्षा संगै पढे गाउँमा अनि १८ वर्ष संगै एकै ठाउँ काम गरे बाग्लुङ्ग नगरपालिकामा। पराजुली अहिले बाल्टिमोर, अमेरिकामा छन् भने आशिषका बुवा अझै पनि नगरपालिकाको सहायक कर्मचारीको रुपमा कार्यरत । पराजुली भन्छन्,–‘सामान्य परिवार हो उनीहरुको । ट्रयाक्टरले किचेर अपांग भएका भाईसंगै बसेका छन् उनीहरु बाग्लुङ्गमा अनि आशिषकी आमा चाहिं बाग्लुङ्ग कालिका भगवती मन्दिरमा फूलपाती बेचेर जीविकोपार्जन गर्छिन् ।’

आशिषको अमेरिका यात्रा, ५५ लाखको ऋणभार
सामान्य परिवारका सदस्य आशिष केही गर्नुपर्छ भन्ने बारेमा सधैं सोच्थे तर गाउँघरमा गर्ने के ? आफु जस्तै अधिकांश साथीहरु वैदेशिक रोजगारीमा गैरहेको देखेपछि उनी पनि विदेश जाने चक्करमा लागे र गन्तव्य बनाए अमेरिका। तर जाने कसरी ? भिषा कहाँबाट र कसरी लिने ? कौतुहलकै बीच उनी अन्य हजारौं युवाजस्तै मानव तस्कर (दलाल) हरुको चंगुलमा परे।

बुवाआमाले पनि छोराको अमेरिका जाने सपनालाई ऋण नै खोजेर भएपनि पुरा गर्ने भए। अन्ततः ५५ लाखभन्दा बढी खर्च गरेर त्यही मानव तस्करीको माखेसाङ्ग्लोमा जेलिएर तीन वर्ष पहिले आशिष सकुशल आफ्नो गन्तव्य अमेरिका आई पुगेका थिए। आशिष जस्ता कैयौं युवाहरु छन् यसरी लाखौँ आर्थिक खर्च र त्योभन्दा बढी जीवन मरणको अनेकौं हण्डर खाएर अमेरिका आउनेहरु। जुन पाटो अत्यन्त अँध्यारो छ जहाँ आशिष उज्यालो पाटोको मात्र उदाहरण बने र भाग्यवश अमेरिका भित्रिए।

तर तीन वर्ष भएको थिएन सुखद भाग्य खोज्न त्यो कष्टसाध्य आर्थिक, मानसिक र शारीरिक सबै भार बेहोरेर अमेरिका आएको। यही भूमिमा तालको पानीमा डुबेर आशिषले ज्यान गु माउनुपर्यो भने बृद्ध हुँदै गएका आशिषका बुवाआमाले बुढेशकालको सहारा र उनकी बहिनीले आफ्नो एक्लो दाजु गुमाए । साहुको खेप्नै नसक्ने ऋणको थुप्रो चुलाए ।

बज्रपात नै भयो केसी परिवारलाई
जब आइतवार अचानक आशिषको असामयिक निधनको खबर सार्वजनिक भयो त्यसपछि डेलिगेट भण्डारीले उनको परिवार र आफन्तको बारे खोजी गर्न थाले। ग्लेनबर्नी भन्ने ठाउँमा साथीभाईसंग बस्दै आएका केसी शुक्रवार उनीहरुसंगै नजिकको तालमा पुगेका रहेछन्। पौडी खेल्दै जाँदा तालको मध्यभागमा पुगेपछि उनी फर्कन सकेनन्,साथीभाईले हार गुहार गरे, हल्लाखाला भयो अनि अन्तिममा आपतकालीन सेवामा फोन गरेर हेलिकोप्टरमार्फत उनको उद्धार गरी अस्पताल पुर्याइयो।जहाँ उनले तेश्रो दिन देह त्य ग गरे। आशिषलाई अस्पताल पुर्याउने समयसम्म मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको, मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेको रहेछ । अनवरत प्रयासका बावजुद पनि उनलाई बचाउन सकिएन’ चिकित्सकहरुले आफुलाई दिएको जानकारी बारे डेलिगेट भण्डारीले भने । आशिषलाई अस्पताल पुर्याएदेखि नै भण्डारीले आवश्यक जानकारी लिइरहेका थिए। बुधवार गरिएको दाहसंस्कारको सम्पूर्ण खर्च समेत आफ्नै परिवारका तर्फबाट बेहोरेका उनी आफैं लाशदाह गृहमा पुगेर अन्तिम समयसम्म बसेका थिए।

घटनापछि भण्डारी आफैंले आशिषका बुवालाई फोन गरे। सामाजिक संजलामार्फत घटना सार्वजनिक भो। अनि स्थानीय बाग्लुङ्ग सेवा समाज,मेरिल्याण्डका सदस्यहरुसंग आशिषको निधन बारे खबर आदान–प्रदान भयो। ‘अमेरिका आएपछि कागज बनाउने प्रक्रियामा न्यूयोर्कमा रहेका उनी केही पहिले मात्र ग्लेनबर्नी आएर एक लिकर स्टोरमा काम गर्दै रहेछन्, अमेरिका आउँदा लिएको त्यो ५५ लाख ऋण पनि तिर्न नपाउंदै दुर्भाग्यवश उनको निधन भयो’ बाग्लुङ्ग सेवा समाज,मेरिल्याण्डका अध्यक्ष विपिन श्रेष्ठले भने। विपिनले समाजका पदाधिकारीहरुसंग सल्लाह गरे र समाजकै कोषाध्यक्ष योगेन्द्र पराजुली आशिषका बुवाको साथी रहेको हुनाले उनैमार्फत बाग्लुङ्गमा आशिषको बुवालाई फोन गर्ने र घटनाको बारे अवगत गराउने काम गरे।

‘ठूलो पीडा भयो, मलाई पनि यस्तो दुःखद घटना कसरी सुनाउने भन्ने भयो तैपनि कुरा गरें। अर्धमुर्च्छित अवस्थामा रुवाबासीका बीच आशिषका बुवासंग कुरा गरें । उनले रुँदै सबै बिलौना बिसाए। ऋण तिरेकै छैन, खै अब के भन्नु, आमाचाहिं बोल्न सक्ने अवस्थामा छैन, मिलेसम्म यतै पठाई दिए मुख हेर्न पाए हुन्थ्यो भन्ने लागेको छ’ भन्दै बुवा भक्कानिए। आखिर मन न हो पराजुली पनि सम्हालिन सकेनन्, विस्तारै अहिलेको परिस्थितिमा नेपाल पठाउन सम्भव छैन यहीं नै हामी सद्गत गर्छौं भनेर बुवालाई सम्झाए।

पराजुली भन्छन्, ‘त्यो बेला आशिषका बुवाले छोरालाई दागबत्ती दिन नपाए पनि त्यहाँ रहेका तपाईंहरुले राम्रोसंग संस्कार गरिदिनु होला, मलाई ठूलो बज्रपात भो, काम गरेको ठाउँबाट वा अरुहरुले केही सहयोग गर्छन् भने त्यो पनि बुझिदिनुहोला, मेरो परिवारको अवस्था थाहा छँदैछ, ऋण गरेर अमेरिका पठाएको हो छोरोलाई। अहिलेसम्म ऋण तिर्न सकेको छैन भन्दै भक्कानिए। ‘

सहयोगका लागि जुट्दैछ नेपाली समुदाय
आफ्नो २५ वर्षीय एक मात्र छोरालाई विदेशी भूमिमा गुमाउनुपर्दाको पीडाका बीच बुधवारको दाहसंस्कारको सबै प्रक्रिया आशिषका बुवाआमाले भिडियोमा हेरे। न्यूयोर्क,न्यूजर्सी र बाल्टिमोरमा रहेका उनका साथीभाई र समुदायका केही प्रतिनिधिसहित करीब ४० जना जति लाशदाह गृहमा भेला भएका थिए। हिन्दू संस्कार अनुसार पण्डितले दाहसंस्कारको प्रक्रिया पुरा गरेका थिए।

यसैबीच आशिषको परिवारलाई सहयोग गर्नका लागि अहिले बाग्लुङ्ग सेवा समाज, मेरिल्याण्डले एनआरएन मेरिल्याण्ड र बानासंगको समन्वयमा गोफण्ड मार्फत सहयोग संकलन अभियान सुरु गरेको छ । ‘हामी केही दिन यस्तो संहयोग संकलन गरेर उनको परिवारको पीडालाई मल्हम लगाउने प्रयास गर्दैछौं’समाजका अध्यक्ष विपिन श्रेष्ठले सहयोगका लागि सबैलाई अनुरोध गर्दै भनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया