सन्तानलाई संसार देखाएको ११ दिनमै अस्ताइन कोरोनाबाट निधन हुने नेपालकै पहिलो महिला

नेपाल। स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट पहिलो निधन भएको पुष्टि गरेको छ। विहिवार धुलिखेल अस्पतालमा कोरोनाकै कारण सुत्केरी महिलाको निधन भएको मन्त्रालयले पुष्टि गरेको हो । शनिबार राति विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलोपटक निधन भएको पुष्टि गरेको हो। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ।

महिलाको निधन पछि उनको घर र माइती दुवै गाउँ सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे हो भने माइती गाउँ बलेफी गाउँपालिका हो । बलेफीको ७ र ८ वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पुष्टि गरेका छन् । सुत्केरीलाई भेट्न उनका माइती गाउँका आफन्त महिलाको घर गएका थिए । त्यसैले माइती गाउँलाई पनि सिल गरिएको हो । त्यसका लागि सेना पनि परिचालन गरिएको छ । माइती र घरको वडावाट मानिसलाई भित्र जान र वाहिर आउन नदिनका लागि प्रहरीलाई सेनाले सघाउने छ ।

धुलीखेल अस्पतालमा उनको उपचारमा संलग्न ३ जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ ।कोरोनाको संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसारनै सेना र प्रहरीले धुलिखेल अस्पतालबाट महिलाको शव पशुपति आर्यघाटतर्फ लगिएको थियो । प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार महिलाको अन्त्येष्टि आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया