ओली, प्रचण्ड र वामदेवकाे फाेटाे बिगारेर सामाजिक सञ्जालमा राख्ने पक्राउ

राजनीतिक दलका नेताहरुको फोटोको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

तीनपाटन गाँउपालिका १ बेल्घारी निवासी २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महानगरीय प्रहरी बिट दरबारमार्गले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

अदालतले वैशाख २८ गते पाैडेलकाे नाममा पक्राउ पुर्जी जारी गरेकाे थियाे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाण्डौ पठाइएको बताउनुभयो ।

पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमकाे कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेकाे अभियोग लागेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया