राँगाको सुकुटीलाई जरायोको भनेर फेसबुकमा पोष्ट गर्ने युवक पक्राउ

राँगाको सुकुटीलाई जरायोको भन्दै आफ्नो घरमा खाना खान निम्ता गर्ने एक युवक पक्राउ परेका छन्।

गढवा गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिवराज पुन मगरले बिहीबार दिउँसो ३ बजेतिर आफ्नो फेसबुक वालमार्फत जरायोको सुकुटी खान निम्ता गरेका थिए।

मगरले लेखेका थिए – ‘लकडाउनको टाइमपास, आजको नास्ता जरायोको सुकुटी…मेरो घरमा स्वागत छ।’

पुनले सामाजिक सञ्जालमा प्रतिवन्धित बन्यजन्तु जरायोको सुकुटी खान सार्वजनिक रुपमा आह्वान गरेपछि डिभिजन कार्यालय देउखुरीका पदाधिकारीहरुले मगरलाई पछ्याए।

अनुसन्धान गर्दै वनको टोली शुक्रबार विहान साढे दश बजेतिर पुनको घरमा पुग्यो र उनलाई नियन्त्रणमा लियो।

कुनै गल्ती नगरी एक्कासी सुरक्षाकर्मीसहितको टोली आएर आफूलाई नियन्त्रणमा लिएको घटनाले मगर आश्चर्यमा परे। उनका घरका परिवारका सदस्य पनि अक्क न बक्क भए।

वन कार्यालयमा लगेर मगरमाथि सोधपुछ र अनुसन्धान सुरु भयो। त्यसक्रममा मगरले रमाइलोको लागि आफूले त्यो सबै गरेको बयान दिए। डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमीलाल प्रसाद साहका अनुसार मगरले त्यो तस्वीर आफ्नी पत्नीलाई खिच्न लगाएका रहेछन्।

‘लकडाउनले घरमा सबै दुःखी छन्, मैले राँगाको सुकुटी पकाउँदै थिए,’ मगरले भने ‘घर परिवार लगायत सबैलाई रमाइलो गराउँ भन्ने उद्देश्यले जरायोको सुकुटी खान आउनुस् भन्ने कुरा जिस्केरे लेखेको हुँ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया