भारतको कदमले नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेपः मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाएको छ । सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले आज एक विज्ञप्ति जारी गरी हालै भारतका रक्षामन्त्री राजनाथसिंहले नेपाली भूभाग गुञ्जी, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक उद्घाटन गरेर नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाएका हुन् । विज्ञप्तिमा सो पार्टीले उक्त अतिक्रमणको कडा विरोध गर्दै नेपाली भूमि भएर सडक निर्माण गर्ने काम अविलम्ब रोक्न भारत सरकारसमक्ष जोडदार माग गरेको छ । साथै उक्त कदमको सो पार्टीले घोर भत्र्सना समेत गरेको छ ।

वैद्यले नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्न तत्काल भारतीय सरकारसँग कुटनीतक पहल गर्न माग समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्नका लागि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकारसमक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया