विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भयो ,तत्काल स्वदेश ल्याउ :डा.भट्टराई

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले महामारी रोकथामबारे सरकारको तयारी पर्याप्त नभएको बताएका छन् । बिहीबारबाट शुरु भएको अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताए ।

“सरकारले बोल्दा त ठीकठाक भइरहेको छ भनिएला, तर रोकथामको अवस्था ठीकठाक छैन”, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुपर्ने बताए ।

विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको उनले बताए । “उताबाट आफ्नो देश जाऊ भन्छ, अनि हामी नआउ भन्ने ?”, उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई अनागरिक बनाइएको बताए ।

महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था रहेको नरहेको उनले बताए । “अहिले आरोप–प्रत्यारोपको समय नरहेकाले अझै एकजुट भएर अगाडि बढनुपर्ने भट्टराईले बताए ।

भट्टराईले किसान तथा मजदुरको अवस्था दयनीय भएकाले उनीहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । “लकडाउनमा हामी सांसदहरुले तलब लिएर बस्यौं, तर मजदुरहरुको अवस्था दयनीय छ”, भट्टराईले भने ।

उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिन सुझाव दिए । “लकडाउन खुलेको भोलिपल्टै विद्यालय खुल्छ भनिएको छ । यसले विद्यार्थीहरुलाई आतंकित बनाएको छ”, भट्टराईले भने ।

महामारीकै अवस्थामा सरकारले अनिष्ट खोजेको उनले बताए । नेता भट्टराईले भने, “संवैधानिक अंग कब्जा गरेर निरङ्कुशताको भाव देखिइयो । अर्काको पार्टी फुटाउने रातभर काम गरियो ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया