भारतीय नेपाल प्रवेश गर्न खोज्दा सिमानामा तनाव, स्थिति नियन्त्रणका लागि हवाई फायर

बाराको सुवर्ण गाउँपालिका वडानम्बर ३ कबहीगोठ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजिरहेकाहरुलाई प्रहरीले रोक लगाएपछि तोडफोड गर्दा प्रहरीले हवाई फायर गरेको छ ।

भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले सीमानाका अवस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।

दुई जनाको संख्यामा नेपाल प्रवेश गर्न खोज्नेहरुलाई रोक्दा उनीहरु १ सय भन्दा बढी भारतीयलाई ल्याएर शसस्त्र प्रहरीको चेक पोष्टमा आक्रमण गर्ने प्रयास समेत गरेका थिए । शसस्त्र प्रहरीलले आक्रमण हुन नदिनका लागि एक थान हवाई फायर गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको जनाएको छ ।

घटनास्थलबाट सयौंको संख्यामा रहेका भारतीयहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले उनीहरुलाई सम्झाइ–बुझाइ फर्काएका छन् ।

भारतीय पक्षले नेपालतर्फ आक्रमण गरेपछि सीमाक्षेत्रका नेपालीहरु पनि घटना स्थल पुगेका थिए । नेपाल–भारत दुवैतर्फका नागरिक घटना स्थलमा पुगेपछि तनाब बढ्न नदिन भारतीय पक्षलाई एसएसबी र नेपाली पक्षलाई सशस्त्र प्रहरीले सम्झाई रहेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए ।

भारतमा महामारी कोरोना संक्रमण तिव्र रुपमा फैलिँदै गएपछि पछिल्लो समय भारतबाट आउनेहरुलाई नेपाल प्रवेश गर्न नदिन सिमानाकामा सुरक्षा कडाई गरिएको छ ।

दुई दिनपूर्व पनि बाराको बिश्रामपुरमा नेपाली र भारतीय पक्ष विच झडप भएको थियो । नेपाल–भारत सीमा क्षेत्र अवस्थित दशगज्जा क्षेत्रमा नेपाली र भारतीय पक्षबिच झडप भएको छ । दशगज्जा क्षेत्रमा रहेको खेतमा गएका नेपालीलाई भारतीय सिमा सुरक्षा बलले हातपात गर्न खोजेपछि स्थानीयवासीहरुले प्रतिवाद गर्दा झडप भएको थियो ।

भारतीय सुरक्षाकर्मी, गाउँले र नेपालीबीच भएको झडपमा विश्रामपुर गाउँपालिका वडा नम्बर ४ स्थित बलिरामपुरसंग सीमा जोडिएको नेपाल–भारत सीमा क्षेत्रको दशगजामा भएको झडपमा १२ जना नेपाली सामान्य घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया