लकडाउन खुलेपछि नागरिकले गर्नुपर्छ यस्ता २० तयारी

कोरोनाविरूद्ध जनचेतना फैलाउँदै आएका जनस्वास्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले लकडाउन खुलाएमा के गर्न सकिन्छ भन्ने बारे पूर्व तयारी अपनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत उनले लकडाउन खुलेमा विभिन्न उपाय अपनाएर काम गर्न सकिने बताउँदै सुझाव दिएका हुन् ।

उनले दिएका यी २० सुझाव :

१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता ।
२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता ।
३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली ।
४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने । आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने / खोक्ने । त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने । कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने । मास्क तथा अनुहारमा हात नलग्ने । सेवाग्राहीसंग दुरी कायम गर्ने । सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी / स्यानिटाइजरको ब्यबस्था गर्ने ।
५. भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने ।
६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने । घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने । किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने ।
७. अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने । व्यक्तिगत दुरी कायम गर्ने, मास्क / चस्मा लगाउने ।
८. सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने । लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने । सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने / त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने ।
९. औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने । प्राथमिक उपचारका साधन / औषधि अलिअलि भएपनि घरमा राख्ने ।
१०. मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश / स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ % मात्र छ ..लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने ।
११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने / नसुन्ने । असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने । जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने ।
१२. मितव्ययी : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने । अनाबश्यक खर्च नगर्ने । बाहिर खाना / खाजा नखाने । सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने । बच्चालाई गाउँको स्कुलमा पढाउने ।
१३. घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने । अनि अरु परिवारसंग भेट्ने ।
१४. घरभित्रको दुरी : जेष्ठ नागरिक / बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने ।
१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने ।
१६. आत्मबल : आत्मबल उच्च राख्ने । आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने । मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने । उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ ।
१७. व्यायाम : सकभर घरभित्र व्यायाम गर्ने । भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ ।
१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने । गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने । चुरोट, खैनी, रक्सी सेवन नगर्ने ।
१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने ।
२०. ब्यबसाय परिवर्तन : अबको २-३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर / होम डेलिभरीको पेशा निकै चल्नेछ । तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने । आदि ।|

फेसबुकबाट तपाईको प्रतिक्रिया