भारतमा नेपाली विद्यार्थी त्रासित, सरोकारवाला मौन

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोभिड-१९ को प्रभाव विगत केही साता देखि भारतमा पनि डरलाग्दो रुपमा उकालो लाग्न थालेपछि, भारतमा रहेका प्रवासी नेपालीहरू आतङ्कित भएका छन् । १३५ करोड जनसंख्या भएको भारतमा तेस्रो चरणको लम्बिदो लकडाउनको सुरुवात भएपछि यहाँ रहेका नेपालीहरू विच रोग भन्दा पनि पहिले भोकले मरिने डर सिर्जना भएको छ। प्रति दश लाख व्यक्तिमा हाल ८०० मात्रको परिक्षण गरिरहँदा पनि अहिलेसम्म लगभग ४५००० कोरोना पोजिटिभ विरामीहरू भारतमा रहेका छन् । यसरी लम्बिदै गरेको लकडाउन अनि नेपालीहरूले खेप्नु परेको समस्या र रोग नलाग्दै आफ्नो देश फर्किन पाउनुपर्ने चाहनालाई सम्बोधन गर्न भारत र नेपालस्थित विभिन्न विद्यार्थी संघ संस्थासंग समन्वय गरेर हातेमालो नेपाली विद्यार्थी समूहले थुप्रै विशिष्ट अतिथि, राजनैतिक संस्थाका प्रतिनिधिहरू, मिडियाकर्मी र भारतका अन्य राज्यहरूमा अध्ययनरत विद्यार्थीहरू बीच अनलाइन लाइभ भिडियो कन्फेरेन्स मार्फत अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य, नेपाल चार्टर्ड अकाउन्टेन्ट संघका अध्यक्ष आनन्द शर्मा वाग्ले, तथा पूर्व उपाध्यक्ष दीपक पाण्डे, अभानेस्ववियूका केन्द्रीय सदस्य सुधन महत , सिए ने.वि. संघ भारतका पूर्व अध्यक्ष गिरु न्यौपाने, राजनीतिकर्मी आर.वि. खड्का, कवि दीपेन्द्र उपाध्याय, सामाजिक अभियन्ता अम्बिका जोशी र प्रदीप सागर रोकाया लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण प्रवासी नेपालीहरूको समस्या राखिएको थियो भने दोस्रो चरणमा समाधान र विकल्पमा जोड दिइएको थियो। कार्यक्रमको सुरुवातमा कोभिड-१९ को प्रभावलाई लिएर सिए विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणको तथ्यांक प्रस्तुत गरिएको थियो जस्मा करिब ८०० विद्यार्थीहरूले भाग लिएको र जसमध्ये करिब ९४% विद्यार्थीहरूले नेपाल फर्किन पाउनुपर्ने इच्छा व्यक्त गरेका थिए । सम्पूर्ण शैक्षिक गतिविधिहरू अनिश्चितकालका लागि ठप्प रहेको र आउँदो परिक्षा पनि २-३ महिना पछि धकेलिएको अवस्था भएकाले श्रोत-साधनको अभाव र कोरोनाको त्रासले गर्दा विद्यार्थीहरू मानसिक पीडाको शिकार हुन परेकाले स्वदेश फर्किन पाउनुपर्ने इच्छा व्यक्त गरिरहेका छन् ।

धेरै विद्यार्थीहरूले उठान गर्नु भएको समस्यामा आर्थिक समस्या विकराल देखिएको थियो । भारतका विभिन्न शहरहरूबाट जोडिनु भएका विद्यार्थीहरूले घरधनीले घरभाडाको लागि दबाव दिइरहेको र कतिपय ठाउँमा सो भाडा नदिएमा निकाल्ने धम्की समेत दिएको बताए । मूलतः छात्राहरूको आवास गृह, पि.जि र होस्टेलहरूमा भारतीय छात्राहरू घर गइसकेको अवस्थामा निकै कम संख्यामा नेपाली छात्राहरू बाँकी रहेको र सुरक्षाको प्रत्याभूति नरहेको गुनासोहरू पनि गरिएको थियो । अन्तर्राज्य रेल सेवा खुलिसके पश्चात् होटल तथा होस्टलहरूमा खाना बनाउने कामदारहरू घर गएको हुँदा, सफा खाना पनि मूख्य समस्याको रुपमा देखिएको पाइयो । दैनिक उपभोग्य बस्तु र पिउने पानी पनि बाहिरबाट मगाउनु पर्ने भएकाले, पानी र खानासङ्गै रोग पनि मगाइने हो कि भन्ने डर आम नेपाली जनमानसमा रहेको पाइयो । वक्ताहरूले विद्यार्थीहरू भन्दा पनि दैनिक ज्यालामा काम गर्ने मजदुरहरू अलपत्र परिरहेको खबर दु:खद् भएको जनाएका थिए ।

सोझा नेपाली श्रमजीवी वर्गलाई घरमा पुर्याइदिने जस्ता थुप्रै झुठा प्रलोभनमा कैयौँ नेपाली ठगिएको समस्याहरू पनि उजागर भएको थियो । भारतमा अन्तर्राज्य रेल खुलेको र प्रत्येक राज्यले आफ्नो नागरिक फिर्ता लग्दै गरेको अवस्थामा, कैयौँ नेपाली नागरिक पनि घर जान पाइने आशामा यात्रा गर्दा बिहार , यू.पी. तथा अन्य राज्यको सीमामा अलपत्र परेको खबर आइरहेको छ । लकडाउन बढेको स्थितिमा, उपलब्ध श्रोत र साधनले धेरै समय टिक्न कठिन रहेको हुँदा सरकारले जारी गरेको ‘जहाँ छौँ त्यहीँ रहौँ’ भन्ने विकल्प सही नभएको कुरा दीपेन्द्र उपाध्यायले उठाउनु भयो ।

धेरै समस्याहरू देखा परिरहँदा पनि नेपाल सरकार र नेपाली राजदूतावासले कुनै पहल नगरेको कुरा गैरजिम्मेवारी पूर्ण भएको गिरु न्यौपानेले बताउनु भयो । परदेशी भूमिमा अभिभावकको भूमिका खेल्नु पर्ने दूतावास आफै मौन रहँदा पीडामा रहेका प्रवासी नेपाली हतोत्साहित भएको पाइयो । कार्यक्रममा राजदूतावासको प्रतिनिधिलाई सहभागिताको निम्तो दिइए पनि वहाँहरू उपस्थित हुन खोज्नु भएन । भारतमा रहेका करिब ५० लाख नेपाली, आफ्नो भोट बैंक रहेको बताउने नेपाल सरकारले अहिलेको विषम परिस्थितिमा भने सौतेनी व्यवहार गरेको देखिन्छ । भूटान जस्तो सानो देशले आफ्नो नागरिक नेपालबाट फिर्ता लगिरहँदा भारतमा रहेका नेपालीहरू प्रति भने राज्य उदासीन रहेको छ । यहाँ भएका नेपालीहरूको वास्तविक समस्याको सम्प्रेषण सहि ढङ्गले राज्यसम्म हुन नसकिरहेको गुनासो धेरैले राख्नुभयो । नेपाल सरकार र मन्त्रीपरिषद्को बैठकले भारतमा रहेको सम्पूर्ण नेपालीहरूको कुशल व्यवस्था रहेको र नेपाल फर्काउन नमिल्ने कुराले राज्य यहाँको अवस्था बारे जानकार नभएको र निर्णय गैरजिम्मेवारी पूर्ण रहेको बुझाइ थियो ।

नेपाल चार्टर्ड अकाउन्टेन्ट संघका अध्यक्ष आनन्द शर्मा वाग्लेले सर्वप्रथम भारतमा रहेका नेपाली विद्यार्थीहरूको तथ्यांक संकलन गरिनुपर्ने र नेपाल फर्कन चाहनेको संख्या पत्ता लगाउनु पर्ने र सो तथ्यांकलाई मिडिया सामु ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले आर्थिक समस्यामा परेकाहरूलाई संघले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका विशेष अतिथि रहनुभएका आइक्यानका (ICAN) अध्यक्ष कृष्ण प्रसाद आचार्यले समस्याको ठोस समाधान गर्नको निम्ति चाहिने निर्णयकारी भूमिकामा आफू नरहे पनि नैतिक साथ र सहयोगका लागि तयार रहेको बताउनु भयो । उहाँले नेपाली श्रमजीवी वर्ग ठगिएको खबरलाई इङ्गित गर्दै भारतमा रहनु भएको शिक्षित विद्यार्थी वर्गलाई यो प्रवृत्ति निरुत्साहित गर्न र श्रमजीवी वर्गमा जागरुकता बढाउन पनि अनुरोध गर्नु भयो । साथै उहाँले भारतमा रहेको सि.ए विद्यार्थीहरूको समस्या सम्बोधन गरिदिनको निम्ति नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्थाका प्रमुखको हैसियतले भारत चार्टर्ड अकाउन्टेन्ट संस्थाका प्रमुखलाई अनुरोध गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा अर्का विशेष वक्ता दीपक पाण्डेले आफूले भारतका लागि नेपाली राजदूतावास संग सम्पर्क गरेको र भारतमा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन महामहिम राजदूत पनि प्रतिबद्ध रहेको र नेपाल सरकारसंग निरन्तर पत्राचार गरिरहनु भएको जानकारी दिनुभयो । साथै नेपाली राजदूतावासले नेपालीहरूको समस्या व्यवस्थापनको निम्ति हटलाइन नम्बर जारी गरेको कुरा पनि जानकारी दिनुभयो । अन्तर्क्रियामा सहाभागी राजनैतिक क्षेत्रका प्रतिनिधिहरूले नेपालस्थित विभिन्न प्रदेशहरूमा मुख्यमन्त्रीस्तरमा यस समस्याको समाधानको निम्ति पहल गरिरहेको जानकरी दिनुभयो । कार्यक्रमको अन्त्यमा वक्ताहरूले, नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन सम्भव नभएको अवस्थामा यहिँ रही सद्भाव र सहयोगको भावना राखेर समस्यामा परेकाको मद्दत गर्न सुझाव दिनुभएको थियो । उहाँहरूले भारतस्थित विभिन्न विद्यार्थी संगठनहरूलाई नेतृत्वदायी भूमिका लिएर प्रवासी नेपालीको आर्थिक, स्वास्थ्य, सुरक्षा र खाने-बस्ने समस्यालाई सम्बोधनको लागि पहल गरेर अघि बढ्न सुझाव दिनुभयो ।

करिब दुई घण्टा चलेको बहसले विद्यमान समस्याको समाधान र विकल्पका निम्ति निम्न सुझाव प्रस्तुत गरेको थियो :-
भारतमा लकडाउनको अवधि अनिश्चित हुनसक्ने भएकाले, प्रवासी नेपालीहरूको अवस्था दु:खद र दयनीय हुनु र कुनै अप्रिय खबर आउनुभन्दा अगाडि नै राज्यले आफ्नो नागरिक फर्काउन पहल गर्नु पर्ने र भारतमा रहेका नेपाली नागरिकहरूलाई चरणबद्ध रूपमा, प्राथमिकताका आधारमा नेपाल फर्काइनु पर्ने ।
चीनबाट कुनै बेला नेपाली विद्यार्थीहरूलाई जुन दायित्वबोध गरेर नेपाल फर्काइएको थियो त्यही दायित्व भारतमा रहेका नागरिकहरूप्रति पनि राज्यले बोध गर्नुपर्ने कुरा उठेको थियो । नेपाल लैजाने अवस्था नरहेमा , यसको विकल्पको रूपमा भारत र नेपालले उच्चस्तरीय बैठक गरी भारतमा रहेका नेपालीहरूका लागि आर्थिक प्याकेज घोषणा गरी यहाँ रहेको नागरिकको समस्याको सम्बोधन गरिनुपर्ने कुरा सामाजिक अभियन्ता सुधन महतले उठाउनु भयो । भारतमा कोरोना भाइरस पोजिटिभ देखिएकाको संख्या तीव्र रूपले बढेको कारणले गर्दा आम नेपाली जनमानसमा भयावह स्थिति सिर्जना भएको छ । बढ्दो संक्रमण, घटिरहेको सुरक्षाको प्रत्याभूति , आर्थिक चाप , मानसिक तनाव जस्ता विभिन्न कारणले नेपालीहरू आफूलाई स्वदेश फर्काइयोस् भन्ने अडानमा देखिन्छन् । यहाँ रहेका सबै वर्गले आवाज उठाउन नसक्ने हुनाले विद्यार्थी वर्ग नै भारतमा रहेको लाखौँ नेपालीको आवाज बन्नुपर्छ भन्ने उद्देश्यले , हातेमालो नेपाली विद्यार्थी समूहका अध्यक्ष रोशन यादवले यसबारे सम्बन्धित निकायसंग निरन्तर पहल गर्ने प्रतिबद्धतामा कार्यक्रम अन्त्य गरियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया