एन्फालाई पाँच लाख अमेरिकी डलर सहयोग

काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट जुध्न विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ ।

फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा राहत कोषबाट सम्पूर्ण सदस्य राष्ट्रलाई एक सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेका छन् ।

फिफाले पहिलो चरणमा कोरोनाबाट अति प्रभावित देशको फुटबल संघलाई सहयोग प्रदान गर्नेछ। फिफाले उक्त सहयोग रकम विभिन्न चरणमा प्रदान गर्दै जाने पनि उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारीले फुटबल समुदायमा निम्त्याएको चुनौती र समस्यालाई समाधान गर्नु फिफाको कर्तव्य भएको अध्यक्ष इन्फान्टिनोले बताएका छन् ।

उनले राहत रकम सुरुआतमा गम्भीर आर्थिक समस्या परेका संघलाई प्रदान गरिने पनि बताए। कोरोनाका कारण विश्वका अधिकांश देशमा फुटबल लिग स्थगित भएको छ । कतिपय ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू एक वर्ष पछि सारिएको छ ।

कोरोना भाइरसको त्रासका कारण नेपालमा पनि ‘बी’ डिभिजन लिग बीचमै स्थगित गरिएको छ। मोफसलका अन्य फुटबल प्रतियोगिताहरू पनि ठप्प भएका छन् ।

एन्फाले कोरोनाविरुद्ध लड्नका लागि हालै सातदोबाटोको एन्फा एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी भवन क्वारेन्टाइनका लागि प्रयोग गर्न दिएको छ । नेपालमा शनिबारसम्म ४९ जना कोरोना संक्रमित देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया