अध्यादेश फिर्ता हुंदैमा अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न : नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई कानूनी उन्मुक्ति दिन नहुने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै यसले श्रृजना गरेको परिस्थिति बारे सचेत गराएका हुन् ।

सोमबार जारी राजनैतिक दलसम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीले शुक्रवारको क्याबिनेट बैठकबाट फिर्ता लिने निर्णय गरेका छन् । तर उक्त अध्यादेश फिर्ता हुनुभन्दा अघि बीचमा भएका विभिन्न राजनीतिक घटनालाई संकेत गर्दै कांग्रेसले कारवाही हनुपर्ने माग गरेको हो ।

“अध्यादेश फिर्ता भएपनि यो प्रकरणसंग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ “नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ ।”

अध्यादेश जारी भएपछि बुधबार राती तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपा नेता महेश बस्नेत, किसन श्रेष्ठ र आईजीपी सर्बेन्द्र खनालले उनको निवासबाट काठमाडौं अपहरण गरेर ल्याएको उक्त पार्टीले आरोप लगाएको छ ।

कांग्रेसले उक्त घटनालई बिर्सन नहुने भन्दै सरकारका कदमहरूबारे सबैलाई सचेत हुन अपील समेत गरेको छ । 

“चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो,” विज्ञप्तिमा भनिएको छ “नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया