अनाहकमै चार दिन कतारमा जेल बसी तीन नेपाली युवती स्वदेश फर्किए

काठमाडौँ — साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे उनीहरू नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनुपर्ने थियो । तर, अध्यागमन डेस्क पुग्दा प्रहरीले नियन्त्रणमा लिई एउटा कोठामा लगेर राखे ।

‘हामीलाई किन रोकेको हो ?’ सानाले प्रहरीलाई अंग्रेजीमा सोधिन् । प्रहरीले अरबीमा बोले । कोठाभित्र थुनेर प्रहरी फर्किए । उनीहरूले एसियना रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङलाई पनि सम्पर्क प्रयास गरे । उनी गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक हुन् । उनको पनि फोन उठेन । गुरुङले एसियनलाई वेस्ट वेर्स्टन पल्स दोहा होटलको आउटलेटको रुपमा चलाएका हुन् । निरुता र साना त्यहाँ गीत गाउँथे भने रेश्मा नृत्य गर्थिन् ।

बिहान ६ बजेतिर उनीहरूले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई आफूहरुलाई विमानस्थलमा नियन्त्रणमा राखिएको जानकारी गराए । भारद्वाजले पनि प्रवीणलाई सम्पर्क गरे तर फोन उठेन । बिहान ८ बजे विमानस्थलको थुनुवा कोठाबाट सीआईडीले आप्रवासी श्रमिकलाई डिपोर्ट गर्नका लागि बनाइएको खोज तथा अनुसन्धान विभागको ‘डिपोर्टेसन सेन्टर’मा लगेर राखे । ‘भित्र हालेपछि मात्रै जेलमा ल्याएको थाहा भयो, हामीले जेलै जानुपर्ने त्यस्तो अपराध के गरेका थियौं ?’ सानाले भनिन् । उनीहरूमाथि कम्पनीबाट भागेको अभियोग लगाइएको रहेछ ।

‘हामीले कम्पनी कहिल्यै छोडेको थिएन । आउने बेला रेस्टुरेन्टकै म्यानेजरले हामीले पाउने हिसाबकिताबबाट टिकट काटिदिएको थियो,’ निरुताले भनिन्, ‘उनीहरूकै गाडीले विमानस्थलसम्म पुर्‍याएको थियो । अध्यागमनमा पुगेपछि अनाहकमा पक्राउ पर्‍यौं । यो त सरासर ठूलो अन्याय भयो ।’

जेलमा उनीहरूले चार रात बिताउनुपर्‍यो । ‘जेलभित्र हामीबाहेक अरू नेपाली थिएनन् । अफ्रिका र युगान्डातिरका सयभन्दा बढी महिला थिए,’ उनले भनिन्, ‘एउटै कोठाभित्र २०–३० जना थिए होलान् ।’

रेस्टुरेन्टका सञ्चालक प्रवीण गुरुङले भने उनीहरुले होटलको नियम तोडेको दाबी गरे । होटलले उनीहरू भागेको भनेर प्रहरीमा निवेदन दिएको कुरा आफूहरूलाई जानकारी नै नभएकाले यस्तो अवस्था निम्तिएको पनि उनले बताए ।

‘उहाँहरू मेरोमा काम गर्ने भए पनि भिसा होटलले दिएको थियो । होटलको केही निश्चित नियम हुन्छ । त्यो उहाँहरूले तोड्नुभयो,’ उनले भने, ‘केही दिन हाम्रो सम्पर्कबाहिर भएको जानकारी मेरो म्यानेजरले होटललाई गराएको रहेछ । होटलले भागेको भनेर प्रहरीमा उजुरी दिएको कुरा हामीलाई थाहा थिएन ।’

स्टेजमा सो गर्न नपाएपछि सहमतिमै कामको बाँडफाँड गरिएको र कसैलाई जबर्जस्ती काममा नलगाइएको उनले बताए । ‘मैले काम नभएपछि पहिला नै जान इच्छुकलाई पठाएको थिएँ,’ उनले भने, ‘उहाँहरू इच्छाले नै बस्नुभएको हो । काम नभएपछि तलब नलिने पूर्ववत् सहमति थियो ।’

नेपाली दूतावासले जेल प्रशासनसँग पहल गरेपछि मात्रै उनीहरू २७ गते बिहान काठमाडौं आइपुगेका हुन् । राजदूत नारदनाथ भारद्वाजले घटना थाहा पाएलगत्तै कन्सुलर शाखालाई जेलबाट निकालेर घर पठाउने प्रबन्ध गर्न निर्देशन दिएको बताए । एक वर्षसम्म काममा लगाइसकेपछि सम्मानजनक ढंगले घर फिर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘श्रम शोषण गरिएको, व्यक्तिगत स्वतन्त्रतामा नियन्त्रण गरिएको भन्ने कुरा छ, यो दुःखद पक्ष हो,’ उनले भने, ‘यो घटनाले हाम्रो देश, समग्र महिलाको इज्जत, प्रतिष्ठामा आँच आउने काम भयो । पीडितलाई काठमाडौंमा सम्बन्धित निकायमा उजुरी दिन भनेको छु ।’ कान्तिपुर दैनिकमा खबर छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया