नेता गौतमलाई मन्त्रि बन्न बाटो खुला , नेकपा विवाद समासुम हुने सम्भावना

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको हो । अब उनी संसदीय समितिकै सदस्य बन्न वा मन्त्री बन्न समेत बाधा हुनेछैन ।

योसँगै गौतमलाई मन्त्री बनाइने र नेकपामा देखिएको विवाद समाधानमा उनको शसक्त भूमिका खोज्ने तयारी भएको बताइन्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि रक्षामन्त्रालय तत्कालका लागि आफूसँगै गरेका छन् । अब उपप्रधानसहित रक्षा र वा गृहमन्त्री वामदेवलाई बनाइए हाल विवादको हल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना देखिएको हो ।

वामदेवको भूमिका
यसअघि नेकपामा वैशाखमा पनि विवाद देखिएको थियो, त्यति बेला अन्तिम समयमा आएर गौतमले ६ बुँदे प्रस्ताव बाहिर ल्याएका थिए । त्यसमा उनले ओलीलाई नै अबका पाँच वर्षको प्रधानमन्त्रीको रुपमा चित्रित गरेका थिए ।

यो निर्णयलाई निकै आश्चर्यका साथ हेरिएको थियो । त्यसको केही समयपछि गौतमले फेरि पनि नेकपामा देखिएको विवादलाई मत्थर बनाउन आफ्नो क्याम्प परिवर्तन गरेका थिए । जब उनले प्रधानमन्त्री ओलीलाई साथ लिन थाले, त्यति बेला प्रचण्ड पक्ष कमजोर हुन थाल्यो ।

अब यसपटक पनि वामदेवविरुद्धको मुद्दामा सर्वोच्चले गरेको निर्णयका कारण अहिलेको नेकपा विवाद यत्तिकै सामसुम हुनसक्ने सम्भावना बढेको हो । उसो त वामदेव समक्ष केही दिनअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद समाधान गर्न भूमिका खेल्न अनुरोध गरेकी थिइन् ।

सर्वोच्चले पनि गौतमलाई सहज हुने गरि निर्णय गरे पछि गौतम अब मन्त्री बन्ने सम्भावना बढ्दा विवाद पनि तत्काललाई मत्थर हुने देखिएको हो । यस्तो भएको खण्डमा फेरि सचिवालयमा ओली बलियो हुनेछन् र नेकपा विवाद समासुम हुने सम्भावना बलियो हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया