परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन,”एकै पटक नभएर प्राथमिकताका आधारमा विदेशबाट नेपाली फर्काउने सरकारको योजना”

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने योजना सरकारले बनाइरहेको बताएका छन् ।

श्रम रोजगार पत्रकार समूहले भिडियो कन्फरेन्समार्फत आयोजना गरेको छलफलमा बोल्दै मन्त्री ज्ञवालीले स्वदेश आउन चाहने विदेशमा रहेका नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपाल फर्काएर रोजगारीमा जोड्नेसम्मको योजना सरकारले बनाइरहेको जानकारी दिएका हुन् ।

‘विदेशमा केही नेपालीहरूको शव अलपत्र परेको, गर्भवती महिलाहरू रहेको, रोजगारी गुमाएर खान बस्न अप्ठेरोमा परेको जस्ता समस्याका बारेमा हामी जानकार छौं,’ मन्त्री ज्ञवालीले भने, ‘प्राथमिकताका आधारमा नेपाल ल्याउने विषयमा सरकार गम्भीर छ । यो छिट्टै शुरू हुन्छ ।’

उनले विदेशमा भएका सबै नेपाली नागरिकहरू एकैपटक नेपाल फिर्ता आउन चाहे नेपालमा पनि व्यवस्थापन हुन नसक्ने बताएका थिए । ‘सरकारले आफ्नो आफ्ना नागरिकहरू प्रतिको उत्तरदायीत्व बिल्कुलै बिर्सेको छैन,’ मन्त्री ज्ञवालीले भने, ‘यहाँ आएपछि पनि व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ । व्यवस्था मिलाएर प्राथमिकताका आधारमा हामी काम गर्छौं,’ उनले भने ।

सबैभन्दा पहिला गैरकानूनी बसोबास गरिरहेका, त्यसपछि रोजगारी गुमाएर बिचल्लीमा परेकाहरूलाई नेपाल ल्याउनेबारे छलफल भइरहेको बताए । विदेशमा रहेका कामदारहरूको वास्तविक स्थितिबारे थाहा पाउन त्यहाँस्थित नेपाली कूटनीतिक नियोगसँग सरकारले पनि निरन्तर समन्वय गरिरहेको उनको भनाइ थियो ।

छलफलमा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिमबक्स मियाँ, कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने र युएईका कार्यवाहक अध्यक्ष मेघराज सापकोटाले ति मुलुकमा कार्यरत नेपालीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया