प्रधानमन्त्री ओलीमा व्यक्तिवादी चरित्र हावी हुँदै गयो : प्रवक्ता श्रेष्ठ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको भन्दै प्रश्न उठाएका छन्। शनिबार साँझ ट्विट गर्दै प्रधानमन्त्रीको व्यवहार र कार्यशैलीप्रति उनले असन्तुष्टि पोखेका हुन्। 

‘शब्दकोशमा ‘म’ एउटा सबैभन्दा सानो शब्द हो। तपाईंको शब्दकोशमा यसलाई सबैभन्दा ठूलो शब्द नबनाउनुहोस्। के हाम्रो कम्युनिस्ट आन्दोलन यही रोगबाट ग्रसित त छैन?,’ शनिबार साँँझ अंग्रेजी भाषामा ट्विट गर्दै उनले लेखेका छन्।

ट्विटमा खास व्यक्ति वा सन्दर्भलाई उल्लेख गरिएको छैन। तर, नेकपाले शुक्रबार र शनिबार व्यहोरेको फरक घटनाक्रमसँग श्रेष्ठको ट्विट लक्षित रहेको आँकलन गर्न सकिन्छ।

पार्टी बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली तयार नहुँदा ५ सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र श्रेष्ठसहित शुक्रबार अनौपचारिक बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार शनिबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

बालुवाटारमा ओली र ५ नेताबीच चर्काचर्की भएको थियो। नेताहरूले ओलीलाई व्यक्तिवादी चरित्र नदेखाउन, आफूलाई केन्द्र नठान्न र बैठक राखेर त्यसको निर्णय मान्न आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले भने आवश्यकताअनुसार बैठक बस्ने तर तत्काल आफूले सचिवालय कमिटीको बैठक नराख्ने अडान दोहोर्‍याएका थिए। 

नेकपामा पछिल्लो पटक देखिएको विवादपछि नेताहरू विभाजित हुँदै गएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया