एकैदिनमा रुसमा थपिए १० हजार कोरोना संक्रमित

विश्वका केही मुलुकहरुमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ भने केही मुलुकहरुमा भने तीव्ररुपमा बढिरहेको छ ।
कोरोना संक्रमण नियन्त्रणतर्फ भएका मुलुकहरुमा लकडाउन खुकुलो बनाउने प्रावधानहरु लागु गरिँदै छन् भने संक्रमण तीव्ररुपमा बढिरहेका मुलुकहरुमा लकडाउनसहित अन्य प्रतिबन्धहरु कडाइ गरिँदै छन् ।
रुसमा आइतबार हालसम्मकै दैनिक कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार कोरोना संक्रमित थपिएका छन् ।
सबभन्दा धेरै कोरोना संक्रमितको संख्या राजधानी मस्कोमा रहेको छ । मस्कोमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ ।
हालसम्म रुसमा एक हजार २८० कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसअघि बिहीबार रुसी प्रधानमन्त्री मिखाइल मिसुतिनलाई कोरोना संक्रमण देखिएको थियो भने शनिबार निर्माण मन्त्री भ्लादिमिर यकुसेफलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो ।
रुसमा कोरोना परीक्षणलाई तीव्रता दिइएका कारण संक्रमितहरु धेरै देखिएको बताएका छन् । राजधानी मस्कोमा मात्रै एक दिनमा ४० हजारको कोरोना परीक्षण गरिएको थियो ।
रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । – बीबीसी
फेसबुकबाट तपाईको प्रतिक्रिया