धन कमाउने तर दान दिन नसक्नेहरु मानसिक रोगी हुन्ः भीम उपाध्याय

भिम उपाध्यय

“तपाईलाई समाजले पुज्ने वा मान्ने, सम्मान गर्ने वा आदरगर्ने भनेको तपाईले समाज वा अरूलाई के दिनुहुन्छ त्यस कुराले मात्र हो । अरूबाट लिने र आफै मात्र कुम्लाएर बस्ने प्रवृत्ति कतैँ बनेको त छैन भन्दै निरन्तर आफूभित्र नियालिरहनु पर्छ। अधिकाँश मान्छे अरूबाट लिने रोग पालिरहेका हुन्छन्, त्यसबाट मजा लिइरहेका हुन्छन् । अरूलाई दिनुपर्यो भने कडा कब्जियत हुने रोग प्रदर्शन गर्छन्। यो कडा आध्यात्मिक बिकृति हो, मानसिक रोग पनि हो । अरूबाट लिने प्रवृति बस्दै जादा मानिसलाई जति धन कमाए पनि, जति ठूलो पद पाए पनि, जति धेरै पढे पनि भित्रभित्रै खोक्रो र समाजको नजरमा बेकम्मा बनाउदै लगेको हुन्छ ।

मैले अधिकाँश कर्मचारी र नेताहरू यस्तै आफूले मात्र खाने, अरूलाई सुको दिन नसक्ने, कुनै बेला दिनु परे असाध्यै कन्न पर्ने मानसिकताका छिछलो जीवन बॉचिरहेको देख्ने गरेको छु । अवकाशपछि अधिकाँश त्यस्ता कर्मचारी र नेताहरू विगतमा जति शिक्षित, ठाटबाटमा रहेका वा पावरफूल र उच्च पदीय भए पनि समाजमा निरन्तर औचित्यहिन, निकम्मा र उपयोगहीन बन्दै गएको देख्न सकिन्छ । पदको ताप र राप हटेपछि तिनका अनुहारमा प्रष्ट पिडाबोध देख्न सकिन्छ । जो मानिसले समाज वा अरूलाई दिने संस्कार बेलैमा पाएको वा सिकेको वा बिकसित गरेको हुँदैन तिनका उत्तरार्द्ध जीवन खोक्रो र निरस हुदै गएको हुन्छ ।

धन कमाउन सजिलो छैन । कमाएको धन दान दिनु त झन् सबैभन्दा गाह्रो काम हो । धन हुनेको मन भयो भने त्यस्ता धनी मानिसहरू समाजमा सबैका प्रिय बन्छन्् । धनको औचित्य परिवारका साथै समाजका लागि केही गर्नका लागि हो । खुशी जीवन बिताउन दान गर्नुपर्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ, यसको पुनर्स्थापना गर्नु पर्छ । नेपालीहरू स्वाभावले दानी दयालू छन््, तर मगज भने कालान्तरमा गलत संगति र स्वार्थी वृत्तिका कारण प्रदूषित हुदै गएको देखिदै छ ।

मानिसका ४ पुरूषार्थ मध्ये एक हो धनार्जन ।
ती ४ पुरुषार्थ यी हुन्– धर्म, अर्थ, काम र मोक्ष ।

धर्मयुक्त धनार्जन वा अर्थार्जन, उक्त अर्थले पारिवारिक र ब्यक्तिगत आवश्यकताको पूर्ति, त्यसपछि समाज र सृष्टिसंग सहज एकाकार हुने साधनामा लाग्नु हो । धनबिना आवश्यकता पूर्ति हुदैन, दानबिना धनको समाजमा कुनै अर्थ रहदैन ।

दान आध्यात्मिक प्रवृत्ति पनि हो, त्यसैले सबै धर्म र पन्थमा दानलाई जिवनको महत्वपूर्ण संस्कृति मानिएको छ । बिकसित देशका लाखौँ लाख राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाहरू, फाउण्डेशन, मठमन्दिर चर्च, मस्जिद, रिसर्च संस्था, उच्चअध्ययनका फेलोशिप, शैक्षिक संस्था र पुरस्कारहरू समेत जनताको दानबाटै चल्छन्। त्यस्ता दानहरू करमुक्त हुन्छन् । सबै भन्दा सम्मानित वर्षेनि ५ विधामा दिईने दशौँ लाख डलर बराबरका नोबेल पुरस्कारहरू डा अल्फ्रेड नोबेलको सम्पत्ति दानबाट चलेको छ । विश्वका सबै ठूला पुरस्कार दानबाट संचालित छन् ।

नेपालमा पनि दान दिईन्छ, भागवत पुराण सप्ताहमा मन्दिरहरूमा भेटी चढाईन्छ। करोडौँ रकम संकलन हुने गर्छ । तर बिज्ञान, समाज विकास वा अन्य क्षेत्रमा दान दिने परम्परा अझै सुरू भएको देखिदैन । धर्म भनेको कर्तब्य र सही मार्गमा हिड्नु ब्यवहार गर्नु हो । नागरिकले आफूले कमाएको सानो अँश अर्थपूर्ण लागेको क्षेत्रमा दान दिने हाम्रो संस्कारको पुनर्जागरण गर्नुपर्छ। धन जति भए पनि थोरै हुन्छ, धनीलाई धनकै माया बढी हुन थाल्छ । त्यस्तै अपुतालीलाई झन् धेरै माया लाग्छ, बॉड्दैनन् भन्ने नेपाली कथन छ ।

विश्वका धनाढ्यहरू सबैले ठूलो रकम दान दिने गर्छन् । बिल गेट्स, मार्क जुकरबर्ग, वारेन बफेट, भारता नं १ दानी अजिम प्रेमजी विश्वकै ठूला दानी हुन् । म्यान्मारका जनता सबैभन्दा दानी मानिन्छ। बुद्धिष्ट र ईस्लाम धर्मवालम्बीहरू बढी दानीमा गनिन्छन् । नेपालीमा औपचारिक दान दिने र त्यसलाई करमुक्त पार्ने परम्परा सुरू गर्नुपर्छ ताकि धन हुनको मन फेरियोस् । मन फेरिए पछि समाज सही मार्गमा बदलिन सहज हुन्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया