भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने यी हुन् काँग्रेसबाट विजयी वडाध्यक्ष

भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

कैलालीको टिकापुरमा बसोबास गरिरहेका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको हो ।जोशीले २०७५ साल फागुन २० गते सिफारिस गरेको भेटिएपछि अनुसन्धानका लागी वडाध्यक्षलाई नियन्त्रणमा लिइएको हो ।

यस्तै जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि छ ।नक्कली बुवा बनेका चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिए । वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् ।

नेपाली नागरिकता ऐन २०६३ मा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । दण्ड सजाय सम्बन्धि ऐनको दफा २१ मा उक्त व्यवस्था छ । उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख छ ।सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष सम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

कैलाली प्रहरीले नागरिकता दिलाउने सिफारिस दिलाउने वडाध्यक्ष जोशीलाई नागरिकता ऐन अनुसार नै माग दावी गर्दै कारवाही गरिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया