हाेसियार ! चिठ्ठा पर्‍यो भन्दै म्यासेज आएको छ ? ठगिनुहोला

काठमाडौं। लट्रीमा २५ लाख ! त्यो पनि भारतीय रूपैयाँ। नेपाली ४० लाख। 

लट्री परेको पनि मोबाइल नम्बरको आधारमा। लट्री टिकट नम्बर चाहिँ ८९६०१।

साता दिन अगाडि ३० वर्षीया सरु तामाङको इमोमा यस्तो सन्देश आयो। उनी काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–९, मानेटारमा बस्छिन्। 

उनलाई यति मोटो रकम चिठ्ठामा परेको सन्देश पठाउने चाहिँ ‘राजकुमार’। उनको थर, जाति इमोमा केही उल्लेख छैन।

चिठ्ठामा यति धेरै रकम परेको खबरले सरु खुसी नहुने कुरै भएन। यो खबर श्रीमान् हरिप्रसादलाई सुनाइन्। 

दुवैजना खुसी भए। चिठ्ठा बापत् प्राप्त रकमले केही गर्नुपर्छ भन्ने योजना पनि उनीहरूको बन्यो।

इमोमा आएको सन्देशमा अमेरिका, दुबई, क्यानडा, भारतसँगै नेपाल गरी पाँच देशमा गरिएको ‘लक्की ड्र’ मा सरुको मोबाइल नम्बर छनोट भएको उल्लेख छ।

र, उनीहरूलाई लाग्यो, कि यति धेरै देशमा मानिसहरूको मोबाइल नम्बरमध्ये छनौट भएर विजेता बनिनु चानचुने कुरो होइन।

यसअघि भने सरुलाई कहिल्यै चिठ्ठा परेको याद छैन। जहाँ उनी पटक–पटक भाग्यशाली चिठ्ठामा प्रत्यक्ष सहभागी बनेकी थिइन्। 

तर, यो भाग्यशाली चिठ्ठामा भने उनी सहभागी भएकी थिइनन्। सहभागी नै नभएको अवस्थामा कसरी २५ लाख रूपैयाँको चिठ्ठामा विजेता बन्न सकियो? सरुको मनमा यो प्रश्न पनि उब्जियो।

त्यसपछि सन्देश पठाउने राजकुमारसँग इमोमा अडियो कल गरेर बोलिन्। सो क्रममा चिठ्ठा बापतको २५ लाख रूपैयाँ प्राप्त गर्नुपूर्व १५ प्रतिशत कर बुझाउनु पर्ने बताए।

२५ लाख रूपैयाँको १५ प्रतिशतको दरले कर ३ लाख ७५ हजार रूपैयाँ हुन आउँछ। जुन पैसा तिर्न सरु तयार भइनन्।

“एक त म आफू चिठ्ठामा सहभागी भएकै होइन, फेरि, चिठ्ठाको रकममा कर तिरेको सुने जानेको मैले छैन,” उनले देखापढीसँग भनिन्, “सम्झिँदा ठग्न लागेको जस्तो लागेर मैले पैसा पठाइनँ र सम्पर्क पनि गर्न छाडेँ।”

सरुलाई पठाएको ‘इमो नेपाल लक्की ड्र विनर” मा हेड अफिसको लट्री म्यानेजर भनिएका राना प्रतापको इमो नम्बर ००९७१–५५८०८५९५२ मा विजेताले पाउने रकमका लागि सम्पर्क गर्न भनिएको छ।

सरुले भने सम्पर्क गरिनन्।

महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले सरु २५ लाख रूपैयाँ पाउने आशमा लाखौं रूपैयाँ ठगिनबाट बचेको बताए।

उनका अनुसार यसअघि २५ लाखदेखि ४० लाख रूपैयाँ भाग्यशाली चिठ्ठा परेको नाममा थुप्रै ठगिएका छन्।

त्यसरी ठगिनेमध्येका एक हुन्– सुवास थारू।

उनलाई भाइबर, ह्वाट्सएप र इमो जस्ता सामाजिक सञ्जालका माध्यमबाट ४० लाख रूपैयाँ लट्री परेको सन्देश आएको थियो। मिति भने उनलाई ठ्याक्कै थाहा छैन।

र, सन्देश पठाउनेहरूले जुन रकम निकाल्न कर बापत २० लाख ४६ हजार ६ सय रूपैयाँ जम्मा गर्न लगाए।

सोही अनुसार सुवासले जसोतसो गरेर जम्मा गरे। यसरी जम्मा गरेपछि भने लट्री परेको भन्नेहरू सम्पर्कविहीन भए।

कथित ४० लाख रूपैयाँको लट्रीको आशमा परेर आफ्नो झण्डै साढे २० लाख रूपैयाँ गुमाए। 

यद्यपि प्रहरीले लट्रीको नाममा सुवासलाई ठगी गर्नेहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइसकेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार झापाको भद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काभ्रेको सिम्थली घर भएका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिका–१ घर भएका १९ वर्षीय आकाश अग्रवाल र १८ वर्षीय एस अग्रवाल तथा भारतीय नागरिक २२ वर्षीय एमडी सर्फराजसँगै वीरगञ्ज–२९ का ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनील साह पक्राउपछि पुर्पक्षका लागि थुनामा छन्।

महाशाखाका प्रवक्ता कार्कीले अनुसन्धानको क्रममा लट्री परेको बहानामा सर्वसाधारण मात्रै नभई नेपाल सरकारका उच्च पदस्त अधिकृत पनि ठगिएको पाइएको बताए।

यसरी ठगिएपछि भने पीडित व्यक्ति मानसिकरूपमा विक्षिप्त हुने गरेको, कतिपय पीडितले आफ्नो घरजग्गासमेत धितो राखी पैसा पठाएको र यसमा भारतीय गिरोह जोडिएको कार्कीको भनाइ छ।

उनले लट्रीको लोभमा परेर ठगिने गरेको घटनाहरू आइरहेको भन्दै लोभमा नपर्न र त्यसबारे बेलैमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

“अहिलेसम्मको ट्रेन्ड हेर्दा लोभ गर्ने मानिसहरू ठगिएको देखिन्छ र त्यसैले लोभमा पर्दा ठगिन सक्नेतर्फ सचेत रहनुपर्छ,” एसपी कार्कीले भने।

उनका अनुसार पछिल्लो समय भने विदेशी नागरिकको नामबाट फेसबुकमा साथी हुने, बोल्दै जाँदा बिहे गरेर विदेश लाने भन्ने र त्यसपछि उपहार पठाएको छु भन्दै उक्त उपहारलाई नेपाल प्रवेश गराउन भन्सारबापत् रकम चाहिने भनी रकम पठाउन लगाएर ठगी गर्ने नयाँ शैली ठगहरूले प्रयोग गर्न थालेका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया