नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले शहीद खगेन्द्रराज दाहालका पिता एवं पार्टीका अग्रज डिल्लीप्रसाद दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

ओखलढुंगाको मुलुङ गाउँपालिका–२ रामपुर निवासी डिल्लीप्रसाद दाहालको ९९ वर्षको उमेरमा वैशाख १३ गते काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवार एक शोक विज्ञप्तिमार्फत उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सभापति देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

खगेन्द्रराज दाहाल विक्रम संवत् २०३१ असोज १३ गते काठमाडौंको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने बहानामा नख्खुको ओरालोमा मारिएका थिए । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले खगेन्द्रराज दाहालसँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई कारागार सार्ने बहानामा मारेको थियो ।

सभापति देउवाले स्व. डिल्लीप्रसाद दाहालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरे । स्व. दाहालका पत्नी, २ छोरा र ३ छोरी छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया