आईपीएल: बैंगलोरलाई दिल्लीले ५९ रनले हरायो

२० असोज, काठमाडौं । आईपीएल क्रिकेट अन्तर्गत गएराति दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ ।जितसँगै दिल्ली शीर्ष स्थानमा पुगेको छ ।

म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए

दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले २६ बल सामना गरेर नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया