बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

१९  असोज, काठमाडौं । भक्तपुर जिल्लामा एक किशोरीमाथि बसभित्रै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बा ३ ख २६१२ नम्बरको बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ का निरकुमार खड्का र सहचालक जुगल गाउँपालिका–४ पाङताङका २१ का सूर्य श्रेष्ठ छन् । 

उनीहरुले शुक्रबार बिहान काठमाडौं रत्नपार्कमा लठ्याउने औषधि खुवाई ती किशोरीलाई बस चढाएर भक्तपुर ल्याएको र शनिबारसम्म बसभित्र सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले तवियाखुशी खोलाको किनारमा बसभित्र किशोरीलाई करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी केशवकुमार थेवेले बताए । उनका अनुसार तवियाखुसी खोला किनारको पार्किङ गरी राखेको बा ३ ख २६१२ नम्बरको बसको मात्रै नम्बर खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत भक्तपुरमा पेस गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा ७ दिन म्याद थप गरेको उनले बताए । सामूहिक बलात्कार आरोपी एक जना फरार छन् । ती व्यक्तिको खोजतलास भइरहेको डीएसपी थेवेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया