कोरोनाका कारण बन्द जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु

१९ असोज, काठमाडौं ।तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ ।

उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो ।

कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

“कोरोना सङ्क्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने , “उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ ।” कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया