एभरटनको लगातार चौथो जित हात

१८ असोज, काठमाडौं । प्रिमियर लिगमा एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ ।

घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । ४१औ मिनेटमा नि मउपेले ब्राइटनका लागि बराबरी गोल फर्काए । तर पहिलो हाफको अन्तिम मसमया येरी मिनाले गोल गरेपछि एभरटनले २-१ को अग्रता बनायो

यसै सिजन एभरटनमा अनुबन्ध भएका रोड्रिगेजले उत्कृष्ट प्रदर्शनलाई जारी राख्ने क्रममा ५२औं र ७०औं मिनेटमा गोल गर्दै एभरटनलाई ४-१ को अग्रता दिलाए । उनले प्रिमियर लिगमा एकै खेलमा दुई गोल गरेको यो पहिलो पटक हो ।

ब्राइटनका लागि खेलको अन्त्यतिर बिसोउमाले गोल गरेका थिए ।

लगातार चौथो जितपछि १२ अंक जोडेको एभरटन अंक तालिकामा शीर्ष स्थानमा छ । ४ खेलबाट ३ अंक मात्र रहेको ब्राइटन १४औं स्थानमा छ । एभरटनसहित लेस्टर सिटी साविक विजेता लिभरपुल र एस्टनभिल्ला मात्र यस सिजन अपराजित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया