पोखरा–नयाँदिल्ली बस असोज १५ गतेदेखि पुनः सञ्चालनमा

१४ असोज, काठमाडौं ।  कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ ।

पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पुर्याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्यसम्म पुर्याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले जानकारी दिए।

पोखराको फिर्केबाट बिहान ११ बजे बस छुट्ने छ । विगतमा पोखरा–दिल्लीको भाडा रु चार हजार रहेकामा हाललाई रु ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।

मोडर्न इराले १४ वर्र्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच दुईदेशीय यातायात सञ्चालनको सहमतिअनुसार विसं २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया