सनराइजर्स हैदरावादको पहिलो जित

१४ असोज, काठमाडौं । सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ ।

हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो ।

दिल्लीका लागि शिखर धवनले ३४, ऋषब पन्तले ३२, सिम्रन हिटमायरले २१ र कप्तान श्रेयस आयरले १७ रन बनाउदा कागिसो राबाडा १५ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट हात पारे । 

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ५३ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान डेभिड वार्नरले ४५ रन र केन विलियम्सनले ४१ रन बनाए ।

अब्दुल समाद १२ रनमा अविजित रहे । दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २÷२ विकेट हात पारे । जितसँगै हैदराबादले ३ खेलबाट २ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । 

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको हैदरावादले दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटको हार भोगेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया