धनगढीमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु

काठमाडौं । धनगढी उपमहानगरपालिका – १ की ६३ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आज मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेकी उनमा असोज १० गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज ७ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । उनीसँगै कोरोना सङ्क्रमणबाट अस्पतालमा मृत्यु हुने सङ्ख्या चार पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया