केएल राहुलको कीर्तिमानी शतकको मदतमा पन्जाब विजयी

दुबई — किंग्स इलेभेन पन्जाबले कप्तान केएल राहुलको कीर्तिमानी शतकको मदतमा आईपीएलमा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनको विशाल स्कोरले माथ दिएको छ ।

राहुलले १३२ रन बनाए । आईपीएल इतिहासमा उनी सर्वाधिक स्कोर बनाउने कप्तान भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो । जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

आईपीएलमा राहुलको यो दोस्रो शतक हो । राहुल ८५ र ८९ रनमा हुदा दुई पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए । राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार गरे ।

शिवम दुबेले फालेको इनिङ्सको अन्तिम ओभरको पहिलो तीन बलमा नैरले ७ रन जोडे भने अन्तिम तीन बलमा राहुलले क्रमशः चौका र लगातार दुई छक्का प्रहार गरे । राहुलले आफूले सामना गरेको अन्तिम ९ बलमा ४२ रन जोडे, त्यसमा ५ छक्का र तीन चौका थियो ।

२०१३ मा राहुलले बेंग्लोरबाट विकेटकिपरको रूपमा आईपीएलमा आफ्नो पहिलो खेल खेलेका थिए । ट्वान्टी–२० मा उनले आफ्नो १ सय १२ रनको उच्च स्कोर उछिनेका हुन् । राहुलको यो स्कोर भारतीय खेलाडीले आईपीएलमा बनाएको उच्च स्कोर पनि हो । तत्कालिन दिल्ली डेरडेभिल्सका रिसब पन्तले दुई वर्षअगाडि १ सय २८ रन बनाएका थिए । कप्तानको रूपमा राहुलको यो स्कोर आईपीएलकै ठूलो थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया