विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी रेमिट्यान्स सम्बन्धी नियममा परिवर्तन

काठमाण्डाै । विदेशबाट सोझै आफन्तलाई पैसा पठाउन मिल्ने गरी नेपाल राष्ट्र बैंकले रेमिट्यान्ससम्बन्धी नियममा परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले सूचनामार्फत विदेशमा रहेका नेपालीले त्यहाँका विद्युतीय भुक्तानी सेवा प्रदायकसँग आबद्ध भएर सोझै नेपालका ई सेवा, खल्ती, आईएमई पे, लगायतका डिजिटल भुक्तानी सेवा प्रदायकमा पैसा पठाउन सक्ने जनाएको हो । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले बताए – ‘हामीले रेमिट्यान्स कारोबारमा छलाङ नै ल्याउने गरी निर्णय गरेका छौँ, अब विदेशबाट एकै क्लिकमा नेपालमा रकम पठाउन सकिनेछ ।’ अब रेमिट्यान्स कम्पनीहरुले पैसा पठाउने र पाउनेको बीचमा पुलको मात्रै काम गर्ने मिश्रको भनाइ छ ।

रेमिट्यान्स प्रदायक कम्पनी र बैंक तथा वित्तीय संस्थाले नेपालीहरु काम गरिरहेका देशका डिजिटल भुक्तानी सेवा प्रदायकहरुसँग मिलेर नेपालमा रकम भित्र्याउन सक्ने र ग्राहकलाई पनि डिजिटल माध्यममार्फत नै भुक्तानी गर्न पाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । अब विदेशबाट आएको रेमिट्यान्स मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायतका माध्यममार्फत सिधै ग्राहकले भुक्तानी पाउने छन् । 

रेमिट्यान्स कम्पनीले डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत पठाएको रकम प्रापकले रकमान्तर गर्न वा आफै उपस्थित हुन नसक्ने अवस्थामा वालेटमा पठाउने र तोकिएको सीमाभन्दा बढी भएको रकम प्रापकको बैंक खातामा स्थानान्तरण हुने व्यवस्था मिलाउनु पर्नेछ । 

यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स सेवा प्रदायकलाई केही शर्त भने तोकेको छ । नेपालीले काम गर्ने देशबाट रकम भित्र्याउँदा रेमिट्यान्स कम्पनीले सम्बन्धित देशको डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भएको हुनुपर्नेछ । अन्तरदेशीय कारोबारको लागि अपनाउनुपर्ने सुरक्षा व्यवस्था कडाइका साथ पालना गरेको हुनुपर्नेछ । यस्तै सुरक्षित रुपमा डिजिटल कारोबारको अभिलेख राखेको हुनुपर्नेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया