नोबेल शान्ति पुरस्कार (सन् २०२०) घोषणा आगामी अक्टोबर ९ मा, वितरण डिसेम्बर १० मा

कोपेनहेगन, ६ असोज । सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन् । उक्त समारोहमा भने कोरोनाभाइरस महामारीका कारण सीमित व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिने भएको छ ।

नर्वेजियन नोबेल इन्स्टिच्यूटका निर्देशक ओलाभ नोल्स्टाडले धेरै कारणले यो वर्ष निकै अनौठो र चुनौतीपूर्ण रहेको जनाउँदै यस वर्षको पुरस्कार वितरणलाई पनि नयाँ ढंगबाट वितरण गर्नुको विकल्प नरहेको बताए । नर्वेको यस इन्स्टिच्यूटले नोबेल शान्ति पुरस्कारको घोषणा र वितरणको प्रबन्ध मिलाउने गर्दछ ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात डिसेम्बर १० मै स्वीडेनको स्टकहोममा गरिनेछ । यी समारोहमा पनि सहभागी अतिथिहरुको संख्या ज्यादै न्यून हुनेछ ।

सन् १९०१ देखि नै यी पुरस्कारहरु अल्फ्रेड नोबेलको मृत्यु भएको दिनका दिन प्रदान गर्ने गरिएको छ । नोबेलको इच्छा बमोजिम नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा वितरण हुने गरेको छ ।

सन् १९४७ देखि १९९० सम्म नोबेल शान्ति पुरस्कार ओस्लो विश्वविद्यालयको प्रेक्षागृहमा आयोजना हुँदै आएको थियो । तर बिगत तीस वर्षअघिदेखि यो समारोह नगर प्रेक्षागृहमा आयोजना हुन थालेको छ जहाँ एक हजार अतिथिहरु सहभागी हुन सक्छन् ।

यस वर्ष यहाँ १०० जनामात्र सहभागी बोलाइँदैछ । यस वर्ष सन् २०२० को नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर ९ मा गरिनेछ । अन्य पुरस्कारको घोषणा भने अक्टोबर ५ देखि १२ बीचमा गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया