‘हिउँचितुवा’ आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन

काठमाडौँ । १० पटक सगरमाथा बिनाअक्सिजन आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार काठमाडौँको आफ्नै निवास जोरपाटीमा बिहान १० बजे उनको निधन भएको उनका आफन्तले जानकारी दिए ।

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको पार्थिव शरीर शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्ध परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक-पटक आरोहण गरेका छन् । सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए ।

शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।सन् १९९६ मा बिनाअक्सिजन अन्तिम आरोहण सगरमाथामा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया