पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु

विराटनगर । माछा पाल्ने पोखरीमा डुबेर मोरङमा तीन जनाको ज्यान गएको छ । मृत्यु हुने तीनै जना एकै परिवारका सदस्य रहेकाछन् । मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।

१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी आमाको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । आइतबार दिउँसो माछा पाल्ने पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ ।

ग्रामथान गाउँपालिका–२ का वडा अध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न गएकी थिइन् । उनीसँग दुई छोरीहरु पनि पुगेका थिए । गर्मीको समयमा कान्छी छोरी पौडी खेल्न भन्दै पोखरीमा पसिन् । उनका अनुसार कान्छी छोरी कृतिका डुबेपछि निकाल्न भन्दै पबित्रा पोखरीमा पसिन् । बहिनीलाई निकाल्न पसेकी पबित्रा पनि डुबेपछि सीता पोखरीमा पसिन् । तर पोखरी गहिरो भएका कारण तीनैजना निस्कन सकेनन् । घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र शव भेटिएको थियो ।

प्रहरीका अनुसार सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । उनका श्रीमान नौ वर्षयता सम्पर्कविहीन छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया