आज छैटौं संविधान दिवस मनाइँदै

काठमाडौं । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै आज छैटौं संविधान दिवस मनाइँदै छ । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति , उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायाधीश , प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष मात्रै सहभागी हुने बताइएको छ ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाउन लागिएको हो । सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया