खोलाले बगाउँदा एक शिशुको मृत्यु

काठमाडौं । कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा एक शिशुको मृत्यु भएको छ ।

ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा शिशुको मृत्यु भएको हो । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् ।

सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाट आई नारायणगढस्थित आफन्तकोमा बसेर  बिहीबार बसमार्फत ठोरी हिँडेका थिए । तर उनको परिवार सवार बस टिउकी खोलामा फसेपछि सो बसमा सवार यात्रुको उद्धारका लागि ठोरीबाट ट्याक्टर बोलाइएको थियो ।

सुत्केरी खानका लागि एक महिनाको छोरालाई लिएर माइत जादै थिइन् । बच्चा सानै भएका कारण सन्तोष पनि सुत्केरी श्रीमतीलाई ससुरालीसम्म पुर्‍याउन आएका थिए । सोही क्रममा उनको परिवार दुर्घटनामा परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया