शुक्रबार रेल नेपाल आइपुग्दै

काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ ।

यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् ।

मिश्रका अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ ।
सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर-जयनगर रेल चलाउने घोषणा गरेको थियो ।कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया