कोरोना अस्पतालले बेड नभएको भन्दै फर्काइएका संक्रमितको मृत्यु

पाल्पा । बिहिबार बिहान थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक तानसेन नगरपालिका-७ का ५२ वर्षीय पुरुष हुन् । उनको तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको बृद्धाश्रमको आइसोलेसनमा उपचार भइराखेको थियो ।

भदौ २२ गते बिरामी भएपछि मिसन अस्पताल तानसेन गएका उनमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको लागि बुटवल र भैरहवा पुर्‍याइए पनि अस्पतालले  भर्ना नलिएपछि पुनः पाल्पा फर्केका थिए । मृतक कलेजो रोगी समेत थिए ।

कोरोना पोजेटिभ देखिएपछि बुटवल रिफर गरिएको तर कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका बुटवल र भैरहवाका कुनै पनि अस्पतालले भर्ना नगरेपछि भदौ ३० गते पुन: पाल्पा ल्याइएको युनाइृटेड मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । 

लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा बेड नभएको भन्दै राख्न नमानेको र भैरहवाको भीम अस्पतालले पनि बेड नभएको भन्दै बिरामी फर्काएको भट्टराईले बताए ।

पाल्पामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि कोरोना संक्रमणबाट पूर्वखोला गाउँपालिकाका १ का ४५ वर्षीय पुरुष, तानसेन नगरपालिका ८ की ३० वर्षीय महिलाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया