भारतका २० दिनमै कोरोना संक्रमितको संख्या दोब्बर, संक्रमित २० लाख नाघे

भारत
७/८/२०२० भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ । संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर गरेर दुई लाख ७१ हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । गत २० दिनको अवधिमा भारतमा संक्रमितको संख्या दोब्बर भएको हो ।

यस अवधिमा भारतमा मात्रै ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ । यसबीचमा अमेरिकामा ५८ हजार तीन सय ३८ र ब्राजिलमा ५४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ ।

कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ । शुक्रबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार त्यहाँ २० लाख २५ हजार चार सय नौ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणको कारण अहिलेसम्म भारतमा ४१ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणको कारण नौ सयले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय २६, अमेरिकामा ११ सय ८२, मेक्सिकोमा ८ सय २९, दक्षिण कोरियामा तीन सय ६, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३७ हजार सात सय ४८ पुगेको छ भने मृतकको संख्या सात लाख १७ हजार पाँच सय २७ पुगेको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया