प्रेमिकाकी आमाले भनिन् – घरपरिवारले सल्लाह गरी नवराजलाई मार्ने योजना बनाएका थियौं

१५ जुन, नेपाल
रुकुम हत्याकाण्डमा मारिएका नवराज विककी प्रेमिकाकी आमाले नवराज छोरी लिन आए मार्ने योजना रहेको प्रहरीलाई बयान दिएकी छन्।

‘मेरी भतिजीसँग नवराजले छोरीलाई घरबाटै थुतेर लैजान केटाहरू लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई,’  उनले बयानमा भनेकी छन्, ‘जेठ १० गते भतिजीलाई मैले एउटा मोबाइल नम्बरबाट फोन गरी बुझ्दा नवराजले छोरी लैजान केटाहरू ल्याएर आउँदैछ भन्ने थाहा पाएँ।  ऊ दलित भएकोले छोरीलाई विवाह गरी लिए पछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा मारी दिए विवाह हुन नपाउने भएकोले घरपरिवारले सल्लाह गरी योजना बनाएका थियौं।’

नवराज त्यो दिन घरनजिकै आएको देखेपछि आफूले ‘तँ डुम फेरि किन आइस् आज मर्छस्’ भन्दै धम्की दिएको उनले प्रहरीलाई बयान दिएकी छन्।

उनले दिएको बयान अनुसार, गालीगलौज गरी कराउँदै श्रीमानलाई फोन गरेर उनले खबर गरिन्। नवराजहरू भागेर तल गए।

‘र पूर्वयोजना बमोजिम मेरो श्रीमानले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेपछि वडाध्यक्षले पूर्वसल्लाह र योजनाबमोजिम गाउँमा खबर गरे,’ उनले भनेकी छन्, ‘मैले नवराजसमेतका केटाहरूलाई तलसम्म निगरानी गरेकी थिएँ। केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाट सँगै केटाहरूलाई पिछा गर्दै गएका थिए।’

उनको बयान अनुसार, योजनामुताविक वडाध्यक्षले पनि अरू मानिसहरूलाई फोन गरेर बोलाए, गाउँका मानिसहरू हातमा लाठी, ढुंगा, हँसिया लिएर आए र घर तलको सडकतर्फ केटाहरूलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिरबाट घेरा हाले। 

‘त्यस पछि म घर फर्किएँ, अन्य के भयो मैले देखिनँ। केटाहरूलाई लखेट्दै भेरी नदी पुर्‍याइ कुटपिटसमेत गरी ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाइते बनाएको पछि थाहा पाएकी हुँ,’ उनको बयानमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया