सरकारी लापरबाहीले कोरिया जान पाएनन् नेपाली श्रमिक

११ जुन, नेपाल
सरकारको ढिलासुस्तीले नेपाली कामदार कोरिया जान पाएका छैनन् । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरियाबाट बिदामा आएका कामदार स्वेच्छाले फर्किन चाहे विमान चार्टर गरी कोरिया जान सक्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गैरआवासीय नेपाली संघले चार्टरका लागि नेपाल वायुसेवा निगमलाई १० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरिसकेको छ । 

निगम र संघबीच सम्झौता भए पनि कोरिया उडानको अनुमति नपाएपछि कामदार यतै अड्किएका छन् । गैरआवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार विमान चार्टर गर्न श्रमिकबाट रकमसमेत उठाइसकिएको छ । त्यसमध्ये केही रकम एबोला ट्राभलको एजेन्टको नाममा ट्रान्सफर गरिएको छ । संघले कोरिया उडानका लागि प्रतिश्रमिक एक लाख १३ हजार संकलन गरेको थियो । तर, अहिले एजेन्टले भने एक लाख ५३ हजार माग्न थालेको श्रमिकको गुनासो छ । 

मिति तय भए पनि उडान अन्योलमा

नेपालस्थित एजेन्ट र कोरियन एयरलायन्सबीच २ असारमा उडान गर्ने मिति तय भएको छ । तर, सरकारले कूटनीतिकबाहेक अन्य चार्टर फ्लाइटलाई अनुमति नदिने भएपछि उडान अन्योलमा रहेको संघले जनाएको छ । दोस्रो उडानका लागि ७ असारको मिति तय भएको छ । त्यो पनि अन्योल नै छ । संघका अनुसार कोरिया फर्किन करिब सात सयजनाले आवेदन दिएका छन् । त्यसमध्ये १ जुनमा ५० श्रमिक कोरिया फर्किसकेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया