कुवेतमा हुनुहुन्छ ? नेपाल फर्कन जरुरी भए यो सुचना जरुर पढ्नुहोस

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने भएका नेपालीका लागि कुवेत स्थित नेपाली राजदूतावासले अत्यन्त जरुरी सूचना निकालेको छ।

नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश -२०७७, संक्रामक रोग ऐन, २०२० को दफा-२ ले दिएको अधिकार प्रयोग गरि मिति २०७७।०२।१२ मा नेपाल सरकारबाट जारी भएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरेको छ।

सो बमोजिम नेपाल जान चाहनेहरूका लागि निम्नानुसार व्यवस्था हुने भएको छ:

१) नेपाल जानका लागि सहजीकरण गरिने नेपाली नागरिकहरूको प्राथमिकताका आधारमा क्रमैसँग निम्न व्यक्ति पर्दछन्:

सजायबाट आममाफी पाएका
डिटेन्शन सेन्टरमा रही हाल नेपाल आउन अनुमति प्राप्त भएका
जुनसुकै कारणले बहिर्गमन (एक्जीट) भिसा लिई बसेका
आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने भएका
रोजगारी गुमाएका वा श्रम करार अवधि सकिएका
कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्थामा रहेका
सुत्केरी तथा गर्भवती महिला; बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता भएका
सरकारी सेवामा रही अध्ययन वा तालिममा आएका
अध्ययन समाप्त भएका विद्यार्थी
नेपाल जानु पर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी
पारिवारिक पुनर्मिलनका लागि आएका; कम्पनीबाट रोजगारी सहित बिदा सुविधा पाएका
अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत रहेका र नेपाल जानुपर्ने अवस्थाका
पर्यटक वा व्यापारिक भिसामा आएका

२) हवाई उडानबाट स्वदेश जाने व्यक्तिले उडान गर्नु अघि कोभिड सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर/आरडीटी वा अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ।

३) हवाई उडानबाट नेपाल फर्कनेका लागि काठमाडौँको चक्रपथ आसपासका उपयुक्त पार्टी प्यालेसहरूमा प्रदेशगत रूपमा (कम्तीमा एउटा पर्ने गरि) अलग-अलग अस्थायी होल्डिंग सेन्टरहरूको व्यवस्था गरिनेछ।

४) त्यसरी जानेलाई विमानस्थल आगमन कक्षमा स्वास्थ्य घोषणा फाराम भर्न लगाइ ज्वरो नाप गरिनेछ।

१००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाई त्यहीँबाट आइसोलेसन कक्षमा लगिनेछ।
अन्यलाई भन्सार सम्बन्धी प्रक्रिया पूरा गरि प्रदेशगत रूपमा व्यवस्था गरिएका बसबाट नेपाली सेनाको संयोजकत्वमा सोझै होल्डिंग सेन्टरहरूमा लगिनेछ।

५) होल्डिंग सेन्टरमा रहेकाको पालिकागत विवरण तयार गरिने र ट्रेसिंग सहजताका लागि निजको मोबाइल नम्बर लिइनेछ।

मोबाइल नम्बर नहुनेका लागि नि:शुल्क सिम वितरण गरिनेछ, जुन कम्तीमा ६० दिन अनिवार्य प्रयोग गर्नुपर्नेछ।आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेनटाइनमा रहँदाको अवधिमा नियमित रूपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्नेछ।

६) होल्डिंग सेन्टरमा आवश्यक प्रक्रिया पूरा गरेपछि आफ्नै खर्चमा होटेल क्वारेनटाइनमा बस्न चाहनेलाई सिधै व्यवस्था गरिएको होटेलमा र स्थानीय तहको नि:शुल्क क्वारेनटाइनमा बस्नेहरूलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रूपमा छुट्ट्याइएका यातायातका साधनबाट जिल्ला सदरमुकाम सम्म पुर्‍याइनेछ।

जिल्ला सदरमुकाममा पुगेकालाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई तोकिएका क्वारेनटाइनमा राख्नेछ।

७) खर्चको हकमा हवाई भाडा, स्थानीय यातायातको खर्च तथा होटेलमा क्वारेनटाइन बस्न चाहने व्यक्तिले होटेलको खर्च आफैँ व्यहोर्नु पर्नेछ।

तर होल्डिंग सेन्टरको भाडा तथा स्थानीय निकायले व्यवस्था गरेको क्वारेनटाइनमा १४ दिन बस्दा लाग्ने खाना खर्च नेपाल सरकारले व्यहोर्नेछ।क्वारेनटाइन अवधि पूरा गरी घर गएपछि पनि थप ७ दिन सम्म छुट्टै आइसोलेसनमा बस्नुपर्नेछ।

८) नेपाल सरकारले जारी गरेको उल्लेखित आदेश उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन-२०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।

ध्यान दिनुपर्ने कुराहरू:

बुँदा १ मा उल्लेख गरिएका प्राथमिकता क्रममा पर्नेहरू मध्ये आममाफी पाइ कुवेत सरकारले व्यवस्था गरेको क्याम्पबाट नेपाल जानेका हकमा राहदानी वा ट्राभल डकुमेन्टको सक्कल आवश्यक पर्नेछ

बुँदा १ मा नै भएका माथि उल्लेखित बाहेकका अन्य व्यक्तिहरूले राहदानी, भिसा वा कुवेत आइडीको सक्कल र फोटोकपी तथा व्यक्तिको अवस्था हेरी चाहिन सक्ने अन्य कागजातहरु (जस्तै जन्म वा मृत्यु दर्ताका कागजहरू, गम्भीर बिरामी भए डाक्टरको सिफारिस पत्र, रोजगारी गुमाएका वा श्रम करार अवधि सकिएर फर्कन लागेकाको हकमा सो को पुष्टि गर्ने कागजात आदि) आफ्नो यात्रा अवधिभर र नेपालको स्थानीय क्वारेनटाइनमा दर्ता नभएसम्म अनिवार्य रूपमा साथै राख्नु पर्ने र मागिएको बखत देखाउनु पर्नेछ।

कुवेत सरकारले व्यवस्था गरेको क्याम्पमा बसिरहेकाहरूको हकमा काठमाडौँ सम्म जाने हवाई उडानको व्यवस्था कुवेत सरकारबाटै हुने र उहाँहरूको नेपाल फिर्ती भए पश्चात् अर्को चरणमा आफ्नै खर्चमा जाने बाँकी अन्यका लागि हुने उडान सम्बन्धी व्यवस्थाका बारेमा पछि जानकारी गराइने छ।

यसै सम्बन्धमा अन्य केही जानकारी आवश्यक परेमा दूतावासको तपसिल बमोजिमको टेलिफोन नम्बर तथा हटलाइनमा सम्पर्क राख्न सकिनेछ:

हटलाइन नम्बर: ९८८६९१२१

टेलिफोन नम्बर: २५३२१६०३, २५३२१६०४, २५३२१६०५

स्रोत: नेपाली राजदूतावास, कुवेतको फेसबुक पेज

फेसबुकबाट तपाईको प्रतिक्रिया