दाउद इब्राहिम एक पटक फेरि चर्चामा ,के उनको कोरोनाबाट मृत्यु भएको हो ?

नयाँ दिल्ली । पाकिस्तानमा लुकेर बस्दै आएका अन्डरवर्ल्ड डन दाउद इब्राहिम एक पटक फेरि चर्चामा आएका छन् । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हल्लाले उनी फेरि चर्चामा आएका हुन् । यद्यपि, दाउदका भाइ अनिस इब्राहिमले उक्त समाचारको खण्डन गरेका छन् ।

उनले दाउद र आफ्नो परिवारका सबै सदस्य स्वस्थ रहेको र कोही पनि अस्पतालमा भर्ना नभएको दाबी गरेका छ । अनिसले नै दाउदको ‘डी कम्पनी’ सञ्चालन गर्दै आएका छन् । उनी यूएईको लग्जरी होटल र पाकिस्तानमा ठूला कन्स्ट्रक्सन प्रोजेक्टका साथै ट्रान्सपोर्ट व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।

दाउदको स्वास्थ्य अवस्था बिग्रिएको समाचार बेलाबखत आउने गरेको छ ।

भारतमा जन्मिएका थिए दाउद

१९९३ मा भएको मुम्बई बम विस्फोटका मास्टरमाइन्ड दाउद मानिन्छन् । उक्त घटनामा १३ वटा बम विस्फोट भएका थिए । जसका कारण ३ सय ५० जनाको मृत्यु भएको थियो भने १२ सयभन्दा बढी मानिसहरु घाइते भएका थिए ।

दाउदको जन्म महाराष्ट्रको रत्नागिरिमा भएको थियो । २००३ मा भारत सरकारले अमेरिकासँग मिलेर दाउदलाई ग्लोबल टेररिस्ट (वैश्विक आतंकवादी) घोषित गरेको थियो । भारतले दाउदसँग भएको भारतीय राहदानी रद्द गरेको थियो । त्यसको केही समयपछि दाउदसँग पाकिस्तानले जारी गरेको राहदानी प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया