आममाफी पाएका २८ सय नेपालीलाई कुवेत सरकारले जहाज चार्टर गरी नेपाल ल्याइदिने

४ जुन काठमाडौं
आममाफी पाएका २ हजार ८ सयभन्दा बढी नेतालीलाई कुवेत सरकारले जहाज चार्टर गरी काठमाडौंसम्म ल्याउने तयारी गरेको छ। नेपाल फर्कन आममाफी पाएको लामो समय बितिसक्दा पनि सरकारले नेपाल फर्काउन नसकेपछि कुवेत सरकारले नै जहाज चार्टर गरेर नेपाल ल्याइदिने तयारी गरेको हो। कुवेतमा आममाफी पाएका २ हजार ८ सय नेपाली श्रमिकहरुलाई नेपाल फर्काउने तयारीबारे कुवेत सरकारसँग कुराकानी भइरहेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए। कुवेत सरकारले आममाफी पाएका विदेशी कामदारलाईलाई आफ्नै खर्चमा स्वदेश फिर्ता गर्ने यसअघि नै घोषणा गरिसकेको थियो।

‘हामी यहाँबाट जतिसक्दो छिटो समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने तयारी गरिरहेका छौँ। पहिलो चरणमा आममाफी पाएका नेपाली फर्काइने छ। आममाफी पाएका २८ सय नेपालीलाई कुवेत सरकारले अहिले छुट्टै क्वारेन्टाइनमा राखेको छ,’ राजदूत भण्डारीले भने। कुवेत सरकारको खर्चमा जहाज चार्टर गरी उनीहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाइ छ। तर कुवेतबाट कहिले काठमाडौं फर्काइने भनेर मिति भने तोकिएको छैन।

उनीहरुलाई कसरी सुरक्षित तरिकाबाट स्वदेश फर्काउने भन्ने सम्बन्धमा त्यहाँको सरकार र नेपाल सरकारसँग समेत छलफल भइरहेको दाबी दूतावासले गरेको छ। आममाफी पाएकाहरूलाई फर्काएपछि रोजगारी गुमाएका वा अन्य कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ। रोजगारी गुमाएका वा विभिन्न कारणले समस्यामा परेका श्रमिकहरुको संख्या पनि ठूलो छ। यस्ता श्रमिकहरुको तथ्यांक संकलन भइरहेको दूतावासको भनाइ छ।

सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउन सुरु गर्ने भएको छ। पहिलो चरणमा म्यानमारबाट २६ र युएईबाट २ सय ५० नेपालीहरु फर्काउने तयारी गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ। सरकारले समस्याका आधारमा प्राथमिकता तय गरी नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ।

आममाफी पाएका, बहिर्गमन भिसा रहेका, आफन्तको मृत्यू भई काजकिरिया गर्नका लागि नेपाल आउनुपर्ने अवस्थाका, रोजगारी गुमाएका वा करार अवधि समाप्त भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठनागरिक, सरकारी सेवामा रही अध्ययन तथा तालिमका सिलसिलामा विदेश गएका, घुमफिरका लागि वा विभिन्न कामका लागि गएका र अध्ययनका लागि गएर समस्यामा परेका वा पढाइ अवधि सकिएकालाई प्राथमिकतामा राखेको छ।

विदेशबाट आएका नेपालीहरुलाई विमानस्थलमा ज्वरोलगायत स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा पठाउने छ। होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टाइनमा बस्नेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहको क्वारेन्टाइनमा बस्नेलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रुपमा छुट्याइएको यातायात साधनबाट जिल्ला सदरमुकाम लगिनेछ।

जिल्ला सदरमुकाममा स्थानीय तहले यसरी आउनेलाई जिम्मा लिई तोकिएको क्वारेन्टाइनमा राख्नुपर्नेछ। स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेको लजिस्टिक, खानपिनलगायत अन्य आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ।

नेपाली सेनाले काठमाडौं उपत्यका र मुलुकका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनको सञ्चालन, नियन्त्रण र निर्देशन गर्नेछ। भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाइ उडान, होटल क्वारेन्टाइन लगायत सम्पूर्ण खर्च आफैंले बेहोर्नुपर्नेछ। तर सम्बन्धित श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनी वा म्यानपावर कम्पनीले हवाइ खर्च, यातायात, होटल क्वारेन्टाइन लगायतमध्ये केही खर्च व्यहोरिदिएको अवस्थामा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ।तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाका ४० हजार नेपाली रहेको सरकारी अनुमान छ।
(Nepallive बाट साभार )

फेसबुकबाट तपाईको प्रतिक्रिया